आइतबार, २ असोज २०७९,
सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षार्थ खटिएका निजी सुरक्षा अधिकृत फिर्ता बोलाएको छ ।
गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले उनको स्कर्टिङमा खटिने सुरक्षाकर्मीसमेत फिर्ता बोलाएको छ । उनको साथमा रहेका कार र जिप पनि फिर्ता मागिएको छ । उनका दुई निजी सुरक्षा अधिकृत फिर्ता बोलाएको हो ।
निलम्बित भएका कारण उनलाई सुविधा नदिएको गृहका एक अधिकारीले जानकारी दिए ।
निलम्बित प्रधानन्यायाधीश जबरा आज (आइतबार) सर्वोच्च अदालत जान चाहेका थिए । तर प्रहरीले निवासको गेटमै ताला लगाइदिएपछि उनी सर्वाेच्च जान सकेनन् ।
विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिमा प्रधानन्यायाधीशले ‘अति विशिष्ट स्तर’को सुरक्षा पाउँछन् । जसअनुसार, नेपाली सेनाका १५ र नेपाल प्रहरीका दुई अधिकृत सुरक्षामा खटिन्छन् ।
जबरा सर्वोच्च जाने सूचना पाएपछि कानुन व्यवसायीहरू उनलाई अवरोध गर्न तयारीसाथ बसेका थिए ।