काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा गगन थापा निर्वाचित भएका छन्। कांग्रेस महामन्त्रीसमेत रहेका यो क्षेत्रबाट विजयी भएर ह्यार्टिक नै गरेका छन्।दुई दिनअघि आइतबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका राजन भट्टराईलाई पराजित गर्दै गगनले काठमाडौं ४ मा जितको ह्यार्टिक गरेका हुन्।
२१ हजार ३०२ मत प्राप्त गरेर विजयी भएका थापाले उक्त क्षेत्रबाट २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य र २०७४ मा भएको प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा पनि विजयी भएको थिए।७ हजार ४४७ मत अन्तरले थापा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १३८५५ मत प्राप्त गर्दै पराजित हुन पुगे। यद्यपि, यो समाचार तयार पार्दासम्म औपचारिक रुपमा नतिजा घोषणा गरिएको छैन।
२०७४ सालमा पनि थापाले भट्टराई नै पराजित गरेका थिए। त्यसबेला माओवादीको साथ रहँदासमेत भट्टराई थापासँग पराजित हुन पुगेका थिए। २०७४ सालमा थापाले तत्कालीन वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार भट्टराईलाई ३ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । थापाले २१ हजार ५५८ मत ल्याएका थिए।
तेस्रोपटक राजन भट्टराईलाई पराजित गरेर जितमा ह्यार्टिक गरेका थापा र उनका समर्थकले विजयोत्सव मनाएका छन्।