काठमाडौँ, १४ असोज राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय संसद्को निर्माणाधीन भवनको अवलोकन गर्नुभएको छ । उहाँले सिंहदरबार परिसरभित्र निर्माणाधीन सङ्घीय संसद्का दुई सदन राष्ट्रियसभा तथा प्रतिनिधिसभाको बैठक कक्षलगायत विभिन्न भवनहरुको शुक्रबार स्थलगत अवलोकन गर्नुभएको हो ।
निर्माणाधीन भवन अवलोकनका क्रममा अध्यक्ष तिमिल्सिनाले हालसम्मको कार्यप्रगति सन्तोषजनक नरहेको बताउँदै तोकिएको समयमा निर्माण सम्पन्न गर्नका लागि तीन सिफ्टमा काम गराउन निर्देशन दिनुभयो ।
उहाँले आयोजनाको सम्पन्न गर्नुपर्ने समय सकिन लागेको अवस्थामा ६० प्रतिशत भौतिक प्रगति भएकाले गति दिन निर्माण व्यवसायी तथा सम्बन्धित कार्यालयलाई आग्रह गर्नुभयो । “अहिलेको गतिले बाँकी समयमा यो आयोजना सम्पन्न हुने देखिँदैन”, उहाँले भन्नुभयो, “केही काम रातिमा गर्न सकिने हुन्छ । एकसाथ गर्न सकिने कामलाई जनशक्ति तथा स्रोतसाधन थप गरेर भए पनि गति दिनतर्फ लाग्नुस् । विसं २०८० असोजसम्म काम सम्पन्न गरेर उद्घाटन गर्नुपर्छ ।” अध्यक्ष तिमिल्सिनाले परम्परागत कार्यशैलीले देशका कुनै पनि आयोजनाको काम सम्पन्न नहुने भएकाले नयाँ सोच र गति आवश्यक रहेको बताउनुभयो ।
विसं २०७६ असोजमा निर्माण सुरु भएको यस आयोजनाको सुरुमा सम्पन्न अवधि तीन वर्ष तोकिएको थियो । हाल कोभिड–१९का कारणले थप गरिएको छ महिनासहित चैत्र मसान्तसम्म म्याद रहेको शहरी विकास तथा भवन डिभिजन विभाग अन्तर्गतको आयोजना समन्वय कार्यालयले जनाएको छ ।
आयोजना कार्यालयका अनुसार यस भवनको ठेक्का सम्झौता रकम रु पाँच अर्ब दुई करोड रहेको छ । कुल एक सय ५१ रोपनी क्षेत्रफलमा फैलिएको सङ्घीय संसद् प्राचीन स्वरूपमा निर्माण भइरहेको छ । निर्माणाधीन भवन अवलोकनअघि शहरी विकास तथा भवन डिभिजन विभागअन्तर्गतको आयोजना समन्वय कार्यालयले अहिलेसम्मको कार्यप्रगतिबारे जानकारी गराएको थियो ।
त्यसैगरी अध्यक्ष तिमिल्सिनाले बिहीबार भैँसेपाटीमा निर्माणाधीन राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख, सङ्घीय मन्त्री तथा प्रदेश मुख्यमन्त्री निवासको समेत अवलोकन गरी कामलाई गति दिन अनुरोध गर्नुभएको थियो ।