अन्न त्याग गरी सत्याग्रहमा रहेका गोविन्द केसीको जीवनरक्षाका लागि कैलालीका नागरिक अगुवाहरूले सरकारसँग माग गरेका छन् ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र सुधारको माग गर्दै धनगढीमा सत्याग्रहमा बसेको केसीको स्वास्थ्यस्थिति दिन–प्रतिदिन झन् जटिल बन्दै गएपछि आज (आइतबार) कैलालीका नागरिक अगुवाले उनको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै जीवनरक्षाका लागि गम्भीर बन्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
नागरिक अगुवा तथा अभियन्ताले केसीले स्वास्थ्य क्षेत्र सुधारका लागि उठाएका माग आम नेपाली जनताको माग भएकाले ऐक्यबद्धताका लागि समाजका सबै पक्षलाई आह्वानसमेत गरे ।
नागरिक समाज धनगढीको अगुवाइमा शिक्षक, प्राध्यापक, बुद्धिजीवी, विद्यार्थी, युवा, सामाजिक कार्यकर्तासहितले धनगढीमा केहीबेर शान्तिपूर्ण प्रदर्शनसमेत गरेका थिए ।
‘हामी केसीका निम्ति लडिरहेका होइनौ, केसी हाम्रा निम्ति लडिरहनुभएको छ,’ लगायत लेखिएका प्लेकार्ड बोकेर उनीहरूले केहीबेर लामबद्ध भएर प्रदर्शन गरे । प्रदर्शनमा सहभागी हेमराज पन्तले केसीले आम नेपाली जनताको हित र समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि गरिरहेको सङ्घर्षमा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताए ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि सात बुँदे मागसहित सात दिनअघि धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा २०औँ सत्याग्रह सुरु गरेका केसीको स्वास्थ्य अवस्था बिग्रिन थालेपछि दुई दिनपछि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
उनको स्वास्थ्य अवस्था निरन्तर थप जटिल बन्दै गएको छ । सेती प्रादेशिक अस्पतालले आइतबार जारी गरेको ‘केसीको स्वास्थ्य अवस्थाबारे जानकारी’मा उनको स्वास्थ्यस्थिति निरन्तर कमजोर हुँदै गएको र यही अवस्था रहेमा ज्यान जोखिममा समेत पर्न सक्ने उल्लेख छ ।
अस्पतालले जारी गरेको जानकारीमा सम्भव्य जटिलताबारे उल्लेख छ, ‘शरीरमा पोषकतत्त्व र पानीको असन्तुलनले बेहोस हुने, कम्पन हुनसक्ने, रोगसँग लड्नसक्ने क्षमता कम भइ विभिन्न सङ्क्रमण हुनसक्ने, मुटुको धडकन, स्वासप्रस्वास र रक्तचापमा गडबड भइ अङ्ग र प्रणाली खराब हुनसक्ने वा ज्यान जोखिममा पर्नसक्ने’ अवस्था आउन सक्छ ।
यसैबीच, सत्याग्रही केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच आइतबार काठमाडौँमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन् ।
सरकारले केसीसँग संवाद गर्न शुक्रबार सचिव रामप्रसाद रिजालको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । त्यस्तै, केसीका तर्फबाट जीवन क्षेत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, लिजन महर्जन र प्रितम सुवेदी सदस्य रहेको वार्ता टोली गठन गरिएको छ ।