काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अलमुताइरीले मुख्य प्रशिक्षकबाट राजीनामाको घोषणा गरेका हुन्।
नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको पाँच सय २५ दिनपछि राजीनामा दिएको अलमुताइरीले बताएका छन्। ‘नेपाली फुटबलको सेवा गरेको पाँच सय २५ दिनपछि मुख्य प्रशिक्षक पद छाडेको घोषणा गर्दछु’, अलमुताइरीले स्टाटसमा लेखेका छन्, ‘खुसी, माया, दुःख र पीडाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद।’
अखिल नेपाल फुटबल संघ ९एन्फा० का प्रवक्ता सुरेश साहले अलमुताइरीले महासचिव किरण राईलाई पत्र लेख्दै मुख्य प्रशिक्षक पद त्यागको घोषणा गरेको जानकारी दिए। ‘उहाँले महासचिवलाई पत्र पठाउँदै सम्झौता समाप्त भएको पत्र पठाउनु भएको छ। यसलाई हामीले राजीनामा दिएको बुझेका छौं’, प्रवक्ता साहले भने, ‘यस बारे थप निर्णय कार्यसमितिले गर्नेछ।’
अलमुताइरीले २०७८ साउन १० गते पनि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिन लागेको घोषणा गरेका थिए। उनले अखिल नेपाल फुटबल संघ ९एन्फा० का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिन बाध्य भएको बताएका थिए। त्यसपछि विवादले उग्र रुप लिएपछि राष्ट्रिय खेलकुद परिषद्ले बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो।
समितिले विवादको मुल जड सामाजिक सञ्जालको अत्याधि प्रयोग, आपसी सम्बन्ध विस्तार हुन नसक्नु, आचारसंहिता पूर्ण रुपमा प्रयोग नगर्नु, खेल क्षेत्रमा धुम्रपान र मद्यपानलगायतका क्रियाकलापलाई निरुत्साहन गर्न नसक्नुलगायतका विषय औंल्याउँदै अलमुताइरीलाई सचेत गराउनुपर्ने सुझाव दिएको थियो। प्रतिवेदन सार्वजनिक भएपछि अलमुताइरीले असन्तुष्टि व्यक्त गरेका थिए। उनले सामाजिक सञ्जाल फेसबुकमा संक्षिप्त स्टाटस लेख्दै असन्तुष्टि व्यक्त गरेका थिए। ‘म बाहिरिएँ। राजनीतिले काम गरोस्’, भन्ने स्टाटस लेख्दै राष्ट्रिय टोली छाड्ने घोषणा गरेका थिए। तर, पछि त्यो विषय त्यक्तिकै साम्य भएको थियो। यही विवादपछि अलमुताइरी भने चर्चाको शिखरमा पुगेका थिए।
कुवेतका प्रो लाइसेन्स प्राप्त अलमुताइरीलाई एन्फाले २०७७ चैत २२ गते मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। उनी कतार फुटबल संघको सहयोगमा नेपाल आएका थिए। अलमुताइरीको नेतृत्वमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिप खेलेको थियो। गत असोजमा माल्दिभ्स भएको च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो। अलमुताइरीको प्रशिक्षणमा नेपालले एएफसी एसियन कप छनोटको दोस्रो चरण खेलेको थियो।
गत वैशाख १३ गते मुख्य प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए। उनले प्रशिक्षण छाडेका १० खेलाडीबिनै एएफसी एसियन कप छनोटका लागि नेपाली टोली घोषणा गरेका थिए। युवा टोलीले सोचे अनुरुप प्रदर्शन गर्न नसकेपछि अलमुताइरी नेपाल फर्किएनन्।
एन्फामा पंकजविक्रम नेम्बाङको अध्यक्षमा नयाँ टिम आएपछि अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवाद समाधानका लागि छानविन समिति गठन गरिएको थियो। छानविन समितिले अलमुताइरीलाई दोषी ठहर गरेको थियो। प्रतिवेदनले एसियन कप छनोटपछि कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरेको थियो।
छानविन समितिको प्रतिवेदनप्रति पनि अलमुताइरीले आपत्ति जनाएका थिए। अलमुताइरीको अनुपस्थितिमा एन्फाले प्रदीप हुमागाईलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। नेपालले असोज दोस्रो साता हुमागाईको नेतृत्वमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ। मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ।