बलिउडमा जस्तै नेपालमा पनि बलियो वर्ड अफ माउथले फिल्मको व्यापार उकालो लाग्न थालेको छ । भदौ १७ गतेबाट रिलिज भएको फिल्म ‘झिँगे दाउ’को बलियो वर्ड अफ माउथका कारण व्यापार सुखद देखिएको छ ।
शुक्रबार औषत व्यापार गरेको फिल्मको शनिबारदेखि व्यापार बढेको थियो । मंगलबारसम्म पनि फिल्मको व्यापार सुखद छ । फिल्मको व्यापार उच्च देखिन थालेपछि यसका मुख्य कलाकारहरु नायिका आँचल शर्मा, केकी अधिकारी, कलाकार मुकुन भुषाल, कुशल बिष्ट हरेक दिन हल पुगिरहेका छन् ।
ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्मले आमा र सन्तानको मायाको कथा भन्छ । साथमा, घरमा बुहारी भित्रिएपछि सुरु हुने किचलोको कथा पनि यो फिल्ममा छ । दर्शकलाई दुई बुहारीको किचलोले मनोरञ्जन दिएको छ भने यसको क्लाइमेक्सले रुवाएको छ । यसकारण पनि फिल्मको व्यापार सुखद देखिएको छ । प्रदीप भारद्धाजको लेखन रहेको फिल्मलाई ज्ञानेन्द्रले कमर्सियल शैलीमा बनाएका थिए ।
एकहोरो विभिन्न घटनामाथि बनेका फिल्म हेरेर हैरान भएका दर्शकका लागि यो फिल्म फ्रेस बनेको छ । यसकाकारण पनि फिल्मले व्यापार राम्रो गरिरहेको हो ।