नायक प्रदीप खड्काले आफ्नो फिल्म ‘प्रकाश’ले क्यूएफएक्सले विभेद गरेको भन्दै पत्रकार सम्मेलन नै गरे । उनले, आफूलाई धेरै शो दिएर फिल्म नचलेको भए पनि चित्त वुझाउने ठाउँ हुने तर्क गरे ।
उसो त, क्यूएफएक्सले भोलीबाटै फिल्मको केही शोज वृद्धि पनि गरिसकेको छ । तर, एउटा कुरा के देखियो भने क्यूएफएक्सको यो दादागिरी यसपटक मात्र देखिएको होइन । तर, नेपाली फिल्मका निर्माताले आफुलाई पर्दा मात्र आवाज उठाउने र अरुलाई पर्दा निदाउने गरेको यसअगाडि पनि देखिएको हो ।
वैशाखको १ गतेबाट फिल्म ‘ए मेरो हजुर ४’ रिलिज हुँदा साउथको ठुलो बजेटको फिल्म ‘केजीएफ २’ रिलिज भएको थियो । सो समयमा झरना थापाले बारम्बार नेपाली फिल्ममाथि विभेद भएको स्वर निकालेकी थिइन् । झरना बोल्दा उनलाई साथ दिएर बोल्ने फिल्मीकर्मी कमै मात्र देखिए ।
झरनाले सो समयमा भनेकी थिइन्–‘आज मलाई झम्टिएको बाघले भोली तपाइलाई पनि टोक्न सक्छ । यसैले, आज हामीलाई पर्दा मौन नबस्नुहोस् ।’
आज ‘प्रकाश’माथि यो कुरा लागू भैरहँदा प्रदीप र उनको टिम एक्लै बोलिरहेको छ । प्रदीपलाई हिजो झरनालाई झम्टिएको बाघले आज टोकेको हो । यो बिषयमा सोधिएको प्रश्नमा प्रदीपले टार्ने जवाफ दिए । उनले, आफूले हिजो अरु फिल्मलाई पनि साथ दिएको तर्क पेश गरे । तर, ‘ए मेरो हजुर ४ वा चपली हाइट ३’का निर्माता कराइरहँदा प्रदीप कता थिए कसैलाई थाहा थिएन ।
प्रदीपले आफूले पनि साथ दिएको तर्क गर्दै गर्दा उल्टै पत्रकारलाई तपाइले लेखेका समाचार कस्ता हुन्छन् मलाई थाहा छ, हामी टाढा बसेकै राम्रो भनेर जवाफ दिएका थिए ।
हिजो झरना थापा पर्दा आज प्रदीप र उनको टिम परेको छ । न त हिजो झरनाका लागि बोल्ने कोही थिए र आज प्रदीपका लागि बोलिदिने कोही छन् । हिजो झरनालाई झम्टिएको बाघले आज प्रदीपलाई टोकेको छ । भोलीका दिनमा अझै कती घाइते हुने हुन्, हेर्दै जाउ ।