ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि ललितपुर जिल्ला क्षेत्र नं ३ का उम्मेदवार अमृत खड्का र प्रदेश ३ (१) का उम्मेदवार रघुनाथ महर्जन, समानुपातिक उम्मेदवार ओमदेवी मल्लले बिहीबार ललितपुर महानगरपालिका २४ स्थित नागदह धापाखेल क्षेत्रमा घरदैलो गर्नुभएको छ ।
मङ्सिर ४ गते हुन गईरहेको निर्वाचनमा आफू र आफ्ना पार्टीका उम्मेदवारलाई मत दिएर विजय गराउन अनुरोध गर्दै उम्मेदवारहरु घरदैलोमा मत माग्न पुगेका थिए । धापाखेल नागदह क्षेत्रमा बिहान साँढे ७ बजेदेखि शुरु भएको घरदैलोमा उम्मेदवारलाई वडावासीले सगुन, फूलमाला तथा खादा लगाएर शुभकामना दिएका थिए । भ्रष्टाचार तथा कुशासन विरुद्ध कडा कानुन निर्माण तथा कार्यान्वयन, व्यवस्थित शहरीकरण, कृषि तथा खाद्य सुरक्षा, गुणस्तरीय तथा अनुकरणीय शिक्षा, उद्यमशीलता तथा रोजगारी, भौतिक पूर्वाधार, मर्यादितसामाजिक सुरक्षा फोकस रहेको छ ।
सहज तथा गुणस्तरीय स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, सुचना तथा प्रविधि, भाषा, पर्यटन प्रवर्धन, लिपी, कला, संस्कृति र सम्पदाको संरक्षण, सरसफाई तथा वातावरण संरक्षण, विकास र प्रवर्धन, महिला सशक्तिकरण तथा समानता लगायतका एजेन्डा र नारा बोकेर निरन्तर घरदैलो जारी राखेको निर्वाचन परिचालन कमिटिका संयोजक दिनेश कार्कीले जानकारी दिनभयो । आज साँझ ५ बजे खोकना क्षेत्रमा घरदैलो गर्ने भएको कार्कीको भनाइ रहेको छ ।