काठमाडौँ, १४ असोज भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । गए राति परेको वर्षाका कारण बस्नेतको ढुङ्गामाटो प्रयोग गरेर बनाइएको तीनतले घर भत्किएको हो ।
घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको छ । वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरमा समेत क्षति पुगेको छ । सोही ठाउँका नारायण राईको घरमा भलपानी पस्दा बस्न नमिल्ने भएको छ । वर्षापछि वडाका विभिन्न ठाउँमा पहिरो खस्दा ठूलो क्षति पुगेको दिक्तेलका वडाध्यक्ष नवराज राईले बताउनुभयो । पहिराले कतिपय स्थानीयको खोर पुरिँदा बाख्रासमेत मरेका छन् । “पीडित राहतका लागि फोन गर्न थालेका छन्”, उहाँले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जिल्लामा मानवीय क्षति नभएको जानकारी दिनुभयो । वर्षाका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध छन् । दसँै, तिहार र छठ मनाउन विभिन्न ठाउँबाट घर फर्किएका जिल्लावासी पैदलयात्रा गर्न बाध्य छन् ।