काठमाडौं, १६ बुधवार फाल्गुन ।प्रतिष्पर्धी वायु सेवा कम्पनीको तुलनामा राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्सको सेवामा कुनै कमी आउन नदिने गरि व्यावसायिक सुधार गर्न लागिएको नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताएका छन्।
![](https://maahikhabar.com/wp-content/uploads/2024/02/428941988_635491632038784_4868245614064994249_n-1024x1024.jpg)
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको आयोजनामा भएको अन्तरक्रिया सहित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले अन्य प्रतिष्पर्धी वायु सेवा कम्पनीको भन्दा भाडादर महँगो नहुने गरि समायोजन लगायतका सुधारका कार्य गरिन लागेको बताएका हुन्।
“राष्ट्रिय ध्वजाबहाक जहाजमा जापानी भाषाको व्यवस्था, अन्तराष्ट्रिय मापदण्डको खानाको व्यवस्थासहित भाडादरमा समेत समायोजन गर्ने गरि आवश्यक कार्य भइरहेको छ।” कार्यकारी अध्यक्ष अधिकारीले भने – नेपाली मन भएका सबैले राष्ट्रिय ध्वजाबहाक जहाजलाई माया गरिदिन र सरकारले पनि आवश्यक सहयोग गरिदिन आग्रह गर्दछु।
अन्तराष्ट्रिय रुपमा १० वटा स्टेशनबाट नेपाल एयरलाइन्सले सेवा दिइरहेको जानकारी दिँदै कार्यकारी अध्यक्ष अधिकारीले निकट दिनमा नै जापानको ओसाकाबाट सेवा दिने गरी कार्य भइरहेको जानकारी समेत गराए।
उनले निगमको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर जापानमा मृत्यु हुने नेपालीको शवलाई नेपाल लैजान सहयोग पुग्ने गरि आवश्यक गृहकार्य अघि बढाउने समेत बताए।
सोहि कार्यक्रममा बोल्दै जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले अन्य प्रतिष्पर्धी वायु सेवाको तुलनामा नेपाल एयरलाइन्स आफ्नो भाडादरमा सहुलियत दिने गरी सस्तो बनाउनका लागि निगमलाई आग्रह गरे।
“चन्द्र सुर्य अंकित झण्डाको सम्मानका लागि पनि नेपाल एयरलाइन्सको प्रयोग गरिनु पर्छ।” राजदूत डा सुवेदीले भने – मैले ट्रान्जिट छैन र अन्य भन्दा सस्तो पनि छ भनेर नेपाल एयलाइन्स प्रयोग गर्न अरूलाई आग्रह गर्न पनि भाडादर सस्तो बनाइदिन निगमलाई आग्रह गर्दछु।”
जापान भ्रमणको क्रममा रहेका वरिष्ठ अधिवक्ता सुशिल कुमार पन्तले सोहि कार्यक्रममा आफ्नो धारणा राख्दै सम्पत्तिको हकका सन्दर्भमा एनआरएनए नागरिकता र अन्य नेपाली नागरिकतामा समानता रहेको बताए। एनआरएनए नागरिकता विदेशमा रहेका नेपालीहरुका निम्ति सरकारले राम्रो कार्य गरेको विचार व्यक्त गर्दै त्यसका राम्रो र सुधार गर्नुपर्ने दुवै पक्ष रहेकोले राम्रोसँग जानकार भएर आवश्यक कार्य गर्न आग्रह गरे।
हालै विशेष अदालतको फैसलाले एनआरएनएको भवन समेत राज्यको भएको भन्ने बारेमा राज्यले कर छुट दिएर जग्गा खरिद भएको र तोकिएको मापदण्ड पुरा गरी भवन बनाइएको पाइएकोले अन्य कुरा कानुन बमोजिम हुने बताए।
अन्तर्क्रियामा भाग लिंदै सहभागीहरूले जापानमा मृत्यु हुने नेपालीको शव नेपाल पठाउन आवश्यक व्यवस्था गरिनु पर्ने, खाली सिट हुँदा समेत टिकट नपाउने अवस्थामा सुधार ल्याउनु पर्ने, सेवालाई चुस्त दुरुस्त र अन्तराष्ट्रिय स्तरको बनाइनु पर्ने, सामाजिक सेवाका लागि लगिने समान तथा वस्तुमा आवश्यक सहयोग गरिदिनु पर्ने र भाडादर सस्तो बनाइनु पर्ने लगायतका सुझाव व्यक्त गरेका थिए।
एनआरएनए जापानका अध्यक्ष नविन निउरेले प्रत्यक्ष रुपमा नेपालीहरुसँग जोडिएका विषय मध्य मृतक नेपालीको शवलाई निःशुल्क नेपाल लैजाने, अस्तुलाई नेपाल पुर्याउने, कार्गोंलाई सस्तों र सुलभ गराउने लगायतका सेवाको सुधार तत्काल गर्न माग गर्दै उनले निगमले प्राप्त सुझावहरुलाई आत्मसात गरी सुधार गरेर लैजाने विश्वास व्यक्त गरे।
कार्यक्रममा कार्यकारी अध्यक्ष अधिकारी र वरिष्ठ अधिवक्ता पन्तलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। एनआरएनए जापानको अध्यक्ष नविन निउरे अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव टिकाराम खरेल र स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा उपाध्यक्ष सुवास लामिछानेले व्यक्त गरेका थिए।