काठमाडौँ, ११ असोज : उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ । मृत्युहुनेमा सङ्खुवासभाका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।
मृतक राईको शव आधार शिविरबाट उद्धार गरेर काठमान्डौको टिचिङ अस्पताल लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो । हिमपहिरामा परेका अन्य १० जनाको भने सकुशल उद्वार गरिएको प्रउ खनालले जानकारी दिनुभयो । सोमबार अबेरसम्म चार जनाको उद्धार गरिएको र थप छ जनाको आज बिहान उद्धार गरिएको उहाँले बताउनुभयो ।
आज बिहानैदेखि हेलिकोप्टरमार्फत पुगेको उद्वार टोलीले हिमपहिरामा परेका निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्वार गरेर सामागाउँ ल्याइएको प्रउ खनालले जानकारी दिनुभयो । “सामागाउँसम्म ल्याइएका सबै घाइतेलाई उपचारका लागि बिहानै काठमाडौँ पठाइएको छ”, उहाँले भन्नुभयो, “उनीहरुको राजधानीस्थित करुणा अस्पतालमा भर्ना गरी उपचार सुरु भएको छ ।”
पहिरामा परी उद्धार गरिएका दुई जनाको अवस्था भने सामान्य भएकाले उनीहरु आधार शिविरमा नै बसेर काम गरिरहेको उहाँले बताउनुभयो । हिमपहिरामा परेकाहको उद्वारका लागि आज बिहान सिम्रिक एयरको दुईवटा, कैलाश र एभरेष्ट एयरको एक–एक गरी चार हेलिकोप्टर परिचालन गरिएको थियो ।