काठमाडौं महानगरपालिले सार्वजनिक ठाउँमा बनाइएका अवैध संचरना र फुटपाथमा राखिएका व्यापारलाई हटाउने अभियानलाई निरन्तरता दिँदै आएको छ । सार्वजनिक क्षेत्रलाई कब्जा गरि अवैध रुपमा संरचना निर्माण गरिएका मल, कप्लेक्स लगाएतलाई भत्काउँदै आएको महानगरको नजर अहिले विद्यालयमा परेको छ ।
महानगरको टोलीले शुक्रबार अनामनगरमा रहेको अक्सिडेन्टल पब्लिक स्कुलको अवैध संरचनामा डोजर चलाएको छ । नक्सा विपरीत सरकारी जग्गामा बनेको भन्दै महानगरपालिकाले डोजर चलाएको हो । तर, विद्यालयमा विद्यार्थीको परीक्षा चलिरहेको समयमा महानगरले डोजर चलाएको भन्दै विद्यालयका शिक्षक तथा शिक्षिकाहरु आक्रोशित बनेका छन् ।
विद्यालयमा अध्यापन गराउने शिक्षिकाले विद्यार्थीको परीक्षा सकिन ४ दिन रहँदारहँदै पनि महानगरले तुरुन्तै भत्काएर के गर्न खोजेको भन्दै प्रश्न गरिन् । उनले सूचना दिएको तीन घण्टामात्रै भएको बताउँदै ४ दिन कुरेको भए आफै भत्काउने थियौं भन्दै आक्रोश समेत व्यक्त गरिन् । दुईचार जनाको पछि लागेर विद्यार्थीलाई बिचल्लीमा पार्ने महानगरको तरिका ठिक नभएको उनको भनाई छ ।
एक शिक्षिकाले भनिन्, “४ दिनले के ढिला हुन्छ हामी आफै भत्काउथ्यौ भनेको भए, तरिका यो त होइन नि अहिले ३ घण्टा मात्रै भयो सूचना दिएको । २,४ जना भरौटेको पछि लागेर स्कुल भत्काइ दिने, ४ दिन कमसेकम ४ दिन पर्खि दिएको भए बच्चाहरु सबैजना बिदा भएर जान्थे होस्टेलको बच्चा पनि जान्थे अनि आनन्दले गरेको भए हुन्थ्यो नि त, के हतार थियो ।”
तर,नगरपालिकाले भने नेपाल सरकारको नाममा लाल पुर्जा भएको हुनाले प्रमाणसहित भत्काउन आएको जवाफ दिएको छ । महानगरप्रहरी प्रमुख राजु पाण्डेले शिक्षा दिने संस्थाले सावैजनिक ठाउँमा बस्न हुन्छ कि हुँदैन् भन्ने प्रश्न थपे । उनले यस विषयलाई बच्चाहरुसँग जोेडेर विद्यालयले भावनालाई छायाँबायाँ जोड्न खोजेको बताए ।
पाण्डेले भने , “उहाँहरु शिक्षा दिने संस्था होनि शिक्षा दिने संस्थाले सार्वजनिक स्थानमा बस्न हुन्छ हुदैन विचार गर्नु पर्दैन् । अहिले चाहि बच्चाहरुलाई जोडेर कुरालाई दाँया बाँया गर्न खोज्ने कुरा मलाई चित्त बुझेन, नाप जाँचको प्रक्रिया चलेको छ, हामी अन्तरयामि भग्वान हो के चल्या छ भन्ने थाहा हुन होइननि परिक्षा चलेको भन्या बहानाका कुराहरु हो, स्कुलको व्यवस्थापनले व्यवस्था गर्न पर्छैन त्यो कुरा जोडि रहने हो ।”
महानगरपालिकाले केही हप्तादेखि नै अवैध संरचनाहरु हटाउन डोजर चलाउँदै आएको छ । सडक सीमा मिचेर बनाइएका अग्ला पर्खाल पनि महानगरले भत्काउन थालेको छ । महानगरपालिकाको काम यस्तै गतिमा अगाडि बढ्ने र यसलाई कसै पनि रोक्न नसक्ने नगर प्रहरीको भनाई छ ।