नायिका आँचल शर्माको दौडधुप खुबै छ । फिल्म ‘झिँगे दाउ’की अर्की नायिका केकी अधिकारी काठमाडौंमा आयोजना भएको फिल्म ‘ऐना झ्यालको पुतली’को प्रिमियरमा सहभागी हुँदै गर्दा आँचल भने चितवनका दर्शकमाझ घेरिएकी थिइन् । सोमबार चितवन पुगेकी आँचल आज बुटवल पुग्दैछिन् । यो फिल्मको प्रदर्शनको दिनदेखि नै आँचलको दौडधुप खुबै छ ।
आँचलका लागि यो फिल्म चलेको खण्डमा फाइदा छ । अझ, उनकै कारणले पनि फिल्म चल्नमा मद्दत पुगेको भन्ने भएमा करिअर नयाँ गतिले दौडिनेछ भन्ने उनलाई थाहा छ । यसैका लागि आँचल दौडधुप गरिरहेकी छिन् ।
फिल्म ‘नाई नभन्नु ल ४ र शत्रु गते’ चलेपनि आँचलका लागि खासै फाइदा भएन । यसपछि उनका लागि यही फिल्म नै नयाँ आयाम बनेको छ । आँचल अभिनित अर्को फिल्म ‘बर एन्ड बधु’ फागुनमा रिलिज हुँदैछ । यसपछि, आँचल फिल्म ‘नाई नभन्नु ल ६’मा काम गर्दैछिन् । आँचल आफै पनि फिल्म बनाउने तयारीमा छिन् ।
यो फिल्मले आइतबारबाट पनि रफ्तार कम गरेको छैन । वर्ड अफ माउथ राम्रो भएका कारण फिल्मको व्यापार सुखद छ । यसले निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजालाई मात्र होइन, आँचललाई पनि फाइदा मिलेको छ । जसकाकारण, आँचल फिल्मको लागि दौडधुप गरिरहेकी छिन् ।