नेपाल चलचित्र निर्माता संघले फिल्म ‘प्रेमगीत ३’को प्रदर्शनको बिषयलाई लिएर संस्थाका अध्यक्ष उपर भैरहेको टिप्पणीप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
‘प्रेमगीत ३’ले नेपाली फिल्मको बजार विस्तारका लागि खेलेको भूमिकालाई समेत संघले प्रशंसा गरेको छ । यो फिल्मले अन्तरराष्ट्रिय बजार विस्तारमा खेलेको भूमिकालाई कोशेढुंगाको रुपमा लिइएको समेत संघले स्पष्ट पारेको छ ।
तर, निर्माता संघको गौरवमय इतिहासमाथि निर्मम रुपमा प्रहार गरि स्वार्थ सिद्ध गर्ने अभिप्राय अनुरुप ‘प्रेमगीत ३’को प्रदर्शनको बिषयलाई जोडेर संघमाथि मिथ्या, भ्रामक र कपोकल्पित आरोप लगाइरहेको बिषय तथ्यहीन, झुट र फिल्म क्षेत्रमा स्वार्थपूर्ति गर्ने अभिष्ट अनुरुप आएको हो भन्ने ठहर पनि निर्माता संघले गरेको छ ।
निर्माता संघले नेपालमा प्रदर्शन गरिने कुनै पनि भाषाका फिल्मप्रति नकारात्मक नरहेको पनि स्पष्ट पारेको छ । निर्माता संघका महासचिव सुनिलकुमार थापाले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘हाम्रो ध्यान सदैव नेपाली फिल्मको वृहत्तर हितको लागि मात्र रहिआएको छ र हामीले स्वदेशी फिल्मको अस्तित्व रक्षार्थ विगतदेखि नै विदेशी फिल्मको अतिक्रमण विरुद्धमा लड्दै आइरहेका छौं । हाम्रो लडाई विशुद्ध विदेशी फिल्मको अतिक्रमण विरुद्ध हो । फिल्म भनेको व्यापारको साधाना मात्र हैन यो भाषा, कला, साहित्य र संकृतिको द्योतक पनि हो । त्यसैले, राज्यले प्रदान गर्ने सेवा, सुविधा र सहुलियत केवल नेपाली भाषाका फिल्महरुलाई हुनुपर्दछ भन्ने हाम्रो मान्यता रहँदै आएको छ । भाषा भनेको अभिव्यक्तिको माध्यम हो भने कला, साहित्य, संकृती र भेषभुषासँग यसको अन्तर्निहित सम्बन्ध हुन्छ । त्यसैले यो सभ्यताको प्रतिक पनि हो ।’
निर्माता संघले विदेशी भाषाको फिल्मलाई देखाएर स्वदेशी सरहको सेवा र सुविधाको माग दाबी गर्नु बाञ्छनीय नहुनुका साथै ऐन–कानुनको बर्खिलापमा हुने र यसले भविष्यमा समेत विकृतिको सुरुवात गर्नसक्छ भन्ने निर्माता संघको मान्यता हो ।’
निर्माता संघले विकास बोर्डसँग ‘प्रेमगीत ३’लाई प्रदर्शनका साथै कर तथा राजश्व छुट र सहुलियत प्रदान गर्ने निर्माणपक्षको मागदाबी सम्बन्धमा विकास बोर्डबाट फिल्म निर्माण, वितरण र प्रदर्शन ऐन तथा नियमावली मुताविक विधी र विधान अनुरुप नै गर्न आवश्यक रहेको समेत प्रष्ट पारेको छ । source- merofilm