काठमाडौं, २४ फागुन। नयाँ सत्ता समीकरणबारे प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराए। बिहीबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेससँग सम्बन्ध तोड्नुका केही कारणहरु सुनाएका छन् भने नयाँ समीकरण पनि जोखिमपूर्ण रहेको बताए ।
सुरुमा प्रधानमन्त्री प्रचण्डले अघिल्लो सत्ता–गठबन्धनमा व्यक्ति प्रचण्डका रूपमा कुनै समस्या या अप्ठ्यारोमा नरहेको कुरा ब्यक्त गरे। ‘अघिल्लो सत्ता–गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल प्रचण्डका रूपमा म कुनै समस्या या अप्ठ्यारोमा थिइनँ, न प्रधानमन्त्री पद नै असुरक्षित थियो । नेपाली कांग्रेसको नेतृत्व र मबीच व्यक्तिगत अविश्वास पनि केही थिएन’ उनले बताए ।
टिकिरहनु मात्रैलाई स्थायित्व मान्न नसकेर गठबन्धन तोडेको भन्दै उनले उल्लेख गरेका छन्, ‘टिकिरहनु मात्रैलाई स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको समस्या पनि थिएन ।’
तरपनी, उनले करिब एघार महिनाको साथ र सहकार्यप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति आभार प्रकट गरे, राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक परिणामहरू निर्णायक हुने पनि बताए । ‘अहिले पनि हाम्रो निजी सम्बन्धमा कम्तिमा मेरा तर्फबाट उत्ति नै सद्भाव छ । तर, राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक परिणामहरू निर्णायक हुँदा रहेछन् । अघिल्लो गठबन्धनमा पनि त्यही भयो’ प्रधानमन्त्री प्रचण्डले भने ।
‘माओवादीले सहयोग गरे अनुसार कांग्रेसको सहयोग गरेन’
माओवादीले सघाए अनुसार कांग्रेसबाट सहयोग नपाएको पनि प्रधानमन्त्री प्रचण्डले बताए छन् । ‘निर्वाचनमा माओवादी केन्द्रले जुन तहमा कांगे्रसलाई सहयोग गर्यो, त्यही तहमा सहयोग भएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले आपसी विश्वासमा कमी ल्यएकै थियो ।’
कांग्रेससँगको सम्बन्ध तोडिनुका कारणहरु सुनाउँदै प्रचण्डले भनेका छन्, ‘गत आम निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट नेतृत्व पछि हट्यो । एउटा परिस्थतिमा फेरि जोडिएपछि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले विद्रोह नै गर्यो ।’कांग्रेसका तर्फबाट माओवादीप्रति असहयोग हुँदा नेतृत्व मौन रहेको उनले बताए । ‘गठबन्धनको नैतिकताको कसीमा त्यो (कोशीको विद्रोह) विद्रोह दण्डित हुनुपर्ने थियो तर भयो पुरस्कृत । राष्ट्रिय सभा निर्वाचनमा त्यो समूहले माओवादी उम्मेदवारलाई अन्तरघातबाट पराजित नै गर्यो’ प्रचण्डले भने ।
‘महासमितिमा गठबन्धनको बिरोध किन ?
कांग्रेस महासमिति बैठकमा विना सन्दर्भ सत्ता गठबन्धनको निन्दा सुरू भएको प्रधानमन्त्री प्रचण्डले बताए । ‘जुन गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो । निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेसमयको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक थिएन’ प्रधानमन्त्री प्रचण्डले भने ।
कांग्रेस महासमितिको बैठकमा २०८४ सालमा हुने चुनावमा चुनाव अगाडि गठबन्धन नगर्ने बहस चलाएको थियो ।
संविधानप्रतिको प्रतिबद्धतामा पनि आशंका
प्रधानमन्त्री प्रचण्डले कांग्रेसको संविधानप्रतिको प्रतिवद्धतामै आशंका गरे । ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको अनि समावेशी, धर्मनिरपेक्ष र समाजवादउन्मुख संविधान निर्माणको मुख्य साझेदार रहेको कांग्रेसको महासमिति बैठकमा स्टल नै राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो, त्यसले कांग्रेसको संविधानप्रतिको प्रतिबद्धतामै आशंका जनाउन सक्ने जमिन तयार गर्यो,’ प्रधानमन्त्री प्रचण्डले बताए ।कांग्रेस महासमितिको बैठकमा हिन्दु धर्मको पक्षमा १३ सय महासमिति सदस्यहरुले हस्ताक्षर गरेका थिए ।
जनयुद्धको दानवीकरण किन ?
प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धको विषयमा महासमितिमा प्रस्तुत प्रतिवेदनको सन्दर्भलाई समेत कांग्रेससँगको गठबन्धन छाड्नुपरेको बताएका छन् । ‘महासमितिमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र होइन, दानवीकरण नै गरियो’ प्रचण्डले भने ।
साथै, ०४७ सालकै संविधान ठीक भएको आशयको प्रतिवेदन कांग्रेसको महासमितिमा वितरण गरिएको उल्लेख गर्दै उनले भने, ‘यसरी हामीबीच हिजो मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत शंका र भय त्रासको वातावरण बन्यो ।’कांग्रेस महासमितिको बैठकमा प्रस्तुत उपसभापति पूर्ण बहादुर खड्काले प्रस्तुत गरेको प्रतिवेदनमा माओवादी सशस्त्र युद्ध आवश्यक नभएको उल्लेख थियो ।
‘आसा गरे अनुसारको साथ पाइनँ’
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धनमा रहेर काम गर्दा केही घटकबाट अपेक्षित साथ नपाएको कारण दिएका छन् । ‘सरकारका रूपमा हामीले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल नगरेका होइनौं तर म तीव्रता चाहन्थेँ । औसत उपलब्धिहरूको आत्मप्रशंसाको पिँजडामा अटाउने अवस्थामा म थिइनँ र छैन ।’ आफूले यसअघि संसदमा विश्वासको मत माग्दै गर्दा तेश्रोपटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुण्डयाउन नउभिएको बताएको स्मरण पनि गरे ।
आफूले सरकारको नेतृत्व गरेको एक वर्षको कार्यकाल पुरा भएपछिको सम्बोधनमा कार्यक्षमता प्रमाणित नभए वा देशमा सकारात्मक परिवर्तन ल्याउन र आशा जगाउन नसके पद नओगटने घोषणा गरेको पनि बताए । तर, घोषणा अनुरुप आफू अगाडि बढ्न नसकेको उनले बताए । ‘मेरो त्यो तहको प्रतिबद्धतामा गठबन्धनका केही घटकबाट मैले अपेक्षित साथ पाइनँ । म संकेतमा केवल यत्ति भन्छु– साथीहरूले व्यक्तिका रूपमा त मलाई माया गर्नुभयो तर परिवर्तन, सुशासन र समृद्धिको तीव्र आकांक्षा बोकेको प्रधानमन्त्रीका रूपमा मलाई न्याय भएन’ प्रधानमन्त्री प्रचण्डले भने ।
आसा अनुरुप सहयोग नपाएपछि आफ्ना सामू दुई विकल्प भएको र एउटा विकल्प रोजेको उनले बाताए । ‘मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ’ प्रधानमन्त्री प्रचण्डले भने ।नयाँ समीकरण पनि जोखिमपूर्ण नरहेको बोध भएको उनले बताए । ‘यो (नयाँ समीकरण) कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अब यो कति परिणाममुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ ।’
कसैलाई आफ्नो कदम अस्थिरता लाग्न सक्ने कसैलाई गतिशीलता लाग्न सक्ने उल्लेख गर्दै उनले थपगरे , ‘तर यसको केन्द्रमा म छैन, मेरो पद छैन, देश र जनताको हित छ । आउँने दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्न कट्टिबद्ध छु ।’