काठमाडौँ, १९। नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमाबारे नयाँ व्यवस्था गर्ने निणय गरेको छ । कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु. १५ करोड कायम गरिएको थियो।
यस्तै गरी धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको बैंकले जनाएको हो । यसअघि पनि एकल ग्राहक कर्जा सीमा १२ करोड राखिएको थियो ।
नयाँ व्यवस्थाअनुसार यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघिने पक्का गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नु पर्ने राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई पठाएको सर्कुलरमा उल्लेख गरिएको छ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले जानकारी दिनुभयो ।
यो सहित राष्ट्र बैंकले ४३ बुँदामा आवश्यक संशोधन , परिमार्जन र थप गरेको थियो।इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई सम्बोधन गरेर राष्ट्र बैंकले पठाएको संशोधित सर्कुलरमा भनिएको छ, ‘यस बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा यसैसाथ संलग्न तालिकाबमोजिम संशोधन, परिमार्जन, थप गरिएको हुँदा सोहीबमोजिम गर्नु गराउनु हुन नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको थियो।’