काठमाडौँ, ११ असोज जब बर्खा लाग्छ, कपिलवस्तु भलवाडवासीलाई एउटै कुराले पिरोल्छ कोइलीखोला कसरी तर्ने । दशकौँदेखि पक्की पुल माग गर्दै आएका भलवाडवासीका लागि उक्त खोला प्रत्येक वर्ष कालजस्तै बन्दै आएको छ ।
गएको साउन महिनामा एक दम्पतीलाई बिहानपख जङ्गलबाट घर फर्कने क्रममा दिलबहादुर सुनार र राममाया सुनारलाई कोइलीखोलाले बगाउँदा उनीहरुको मृत्यु भयो । यति मात्र होइन, दुई वर्ष अगाडि विद्युत् प्राधिकरण गजेहडा वितरण केन्द्रको गाडी पनि बगायो । असोजको पहिलो हप्ता आएको बाढीले बगाउँदा तत्कालीन वितरण केन्द्रका प्रमुख कृष्ण पौडेलसहित तीन जनाको मृत्यु भयो भने तीन जना पौडिएर बाँच्न सफल भएका थिए । यी त ठूला दुर्घटना मात्र हुन् । हरेक वर्ष कोइलीखोलाले मानवीय तथा भौतिक क्षति गर्दैै आएको छ ।
बाणगङ्गा नगरपालिका–९ मा पर्ने यो साविकको भलवाड गाविस हो । वरिपरिबाट खोलाले घेरेको यो वडा बर्खामा कपिलवस्तुबाट सम्पर्कविच्छेदजस्तै हुन्छ । पहाडबाट आउने उर्लंदो बाढी तरेर बर्खामा आवाजजावत गर्नसक्ने सामथ्र्य वडावासीसँग छैन । खोला तर्नुको अर्को विकल्प पनि उनीहरुलाई छैन ।
अर्घाखाँचीसँग सीमा जोडिएको भलवाडवासी नुनदेखि सुनसम्मका लागि कोइलीखोला तरेरै जानुपर्छ । “कोही बिरामी भए भने तुरुन्त खोला तर्नुको विकल्पै छैन”, भलवाडका दीपक थापा भन्नुहुन्छ, “घरमा खाद्यान्न सकियो भने पनि खोला तरेरै जानुपर्छ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा काम गर्ने कर्मचारीलाई पनि खोला तरेरै ड्युटी जानुको विकल्प छैन ।
” विसं २०३९ देखि भलवाडवासीले खोलामा पक्की पुल माग्दै आएका छन् । हरेक चुनावमा भलवाड उम्मेदवार जिताउने पहुँच राख्छ तर जितेका उम्मेदवारले यहाँको समस्या बुझ्न सकेका छैनन् । “हरेक चुनावमा भलवाडवासीको एउटै माग हुन्छ, पुल चाहियो तर काम गरिदिने कोही भएनन्”, भलवाडका लक्ष्मी बेल्वासेले भन्नुभयो ।
पञ्चायतदेखि राजा हुँदै गणतन्त्रसम्म आउँदा भलवाडवासीले एउटा पुल पनि पाएनन् । साविकको भलवाड गाविसका पूर्वअध्यक्ष कुमार मधु बेल्वासे विसं २०३९ मा मोतिपुरबाट भलवाड गाविस भएदेखि नै कोइली खोलामा पुल माग्दै आएको स्मरण गर्नुहुन्छ । “पञ्चायतकालदेखि पुल माग्दै आए पनि गणतन्त्रले सम्म पनि सुनेन्”, उहाँ भन्नुहुन्छ ।
विसं २०५४ मा आफू वडाध्यक्ष भएपछि कजवेमात्र बनाउन सकेको बेल्वासेको भनाइ छ । विसं २०७४ मा निर्वाचित प्रदेशसभा सदस्य विष्णु पन्थी कोइलीखोलामा पुल बनाउन आफूले निरन्तर पहल गरिरहेको बताउनुहुन्छ । आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश सरकारले बनगाई, मोतीपुर, भलवाड–डोहोटे सडकखण्ड बनाउन लागेको र यसैमा जग्गा विवादका कारण काम रोखिएको उहाँको भनाइ छ ।
“पुल बनाउन डिपिआर बन्यो, काम पनि थाल्यौँ तर जग्गा विवादका कारण अदालतसम्म मुद्दा परेर काम अगाडि बढ्न सकेको छैन”, प्रदेशसभा सदस्य पन्थी बताउनुहुन्छ । विगतमा सरकारी उदासिनताकै कारण पुल बन्न नसकेको आरोप लगाउँदै उहाँ अहिले भने भलवाडबाट सडक पहुँचसम्म पुग्ने अर्को सडक बोडगाउँ–मोर्मी–जिनुवा हुँदै डोहोटे पुग्ने सडकमा प्रदेशले पुल बनाउने थालेको छ भन्नुहुन्छ ।
भलवाड सामान्य गाउँ होइन, सिङ्गो जिल्लाको उत्तरी भेगको वडा हो । पहाडबाट बसाइँ सरी आउनेको गन्तव्य भलवाड हुने गरेको छ । कृषिको उर्वराभूमि, नजिकै जङ्गलको सुविधा, अर्घाखाँचीसँग सीमा जोडिँदा र हावापानी पनि राम्रो हुनाले सबैको रोजाइ भलवाड हुने गरेको छ । विगतमा थारू समुदायको बाहुल्यता हुने गरे पनि आजभोलि पहाडिया समुदायको भलवाडमा बाक्लो बसोबास छ ।