काठमाडौँ । वनमन्त्री प्रदीप यादवले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रूख कटानका लागि वन मन्त्रालयबाट अनुमति दिइने बताएका छन् ।
सामुदायिक वन दिवस २०७९ का अवसरमा बुधवार वन तथा भू-संरक्षण विभागले ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले मुआब्जा पाइसकेका टाँगिया बस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रूख कटानका लागि मन्त्रालयबाट अनुमति दिइने बताएका हुन् ।
आफू व्यक्तिगत रूपमा उक्त विमानस्थल निर्माणको पक्षधर भएकाले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रूख पनि काट्न नदिने धारणा राखे ।
पहिले मुआब्जा पाइसकेको वनको कब्जा गरिएको करिब ५ सय हेक्टर जमिन खाली हुनु पर्ने तथा विमानस्थल निर्माणका लागि बजेटको सुनिश्चितता हुनु पर्ने मन्त्रालयको माग रहेको मन्त्री यादवले जानकारी गराए ।
विभिन्न नाटक गरेर पैसा खाइदिने तर विमानस्थल निर्माणका लागि बजेट सुनिश्चितता नहुने षड्यन्त्र भएकाले यसलाई अन्त्य गर्ने उनको भनाइ छ । उनले सरकारले विमानस्थलका लागि छुट्टाएको ३० करोड रुपैयाँले कुनै हालतमा विमानस्थल बन्न नसक्ने बताए ।
मन्त्री यादवले केही षड्यन्त्रकारीहरूले पछिल्लो समय वनको जग्गा सुकुम्वासीका नाममा कब्जा गर्ने, अतिक्रमण गर्ने, वन जङ्गल मास्ने, फडानी गर्ने कार्य गरिरहेकले त्यसरी कब्जा गरिएका जग्गा खाली गराएरै छोड्ने जिकिर गरे ।
मिचिएका तथा अतिक्रमण गरिएका सरकारी जमिन निकट भविष्यमै खाली गराउने तथा फिर्ता ल्याउने अभियानमा आफू निस्किने तयारीमा रहेको समेत मन्त्री यादवले बताए ।