काठमाडौं, २१ मंसिर । यू–१९ एसिया कपमा नेपालले भोलि शुक्रबार आफ्नो पहिलो खेलमा पाकिस्तानसँग भएको छ । आईसीसी एकेडेमी ग्राउण्ड २ दुबईमा हुुने यो खेल नेपाली समयअनुसार विहान ११ः१५ मा सुरु हुने जनाएको छ ।सन् २००२ को विश्वकपमा भएको खेलमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो, पस्चात भएको सबै खेल पाकिस्तानले जितेको छ । पछिल्लो पटक २०१६ को विश्वकपमा भएको खेलमा पाकिस्तान १२२ रनले विजयी भएको थियो ।
समूह ए मा परेको नेपालले पाकिस्तानपछि अफगानिस्तान र भारतसँग खेल्नेछ भएको। तीनवटै टेष्ट मान्यता प्राप्त देश भएकाले एसिया कपलाई नेपालले जित हार भन्दा बढी अनुभव हासिल गर्ने साथै विश्वकपको तयारीका रुपमा लिइएको छ ।
‘विश्वकप खेल्न जानुअघि हामीले टेष्ट राष्ट्रसँग खेल्ने मौका पाएका छौं’ मुख्य प्रशिक्षक जगत टमाटा भन्छन्, ‘यो हाम्रो क्षमता परीक्षणको राम्रो मौका हो । नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा पुगेको छ, जुन प्रतियोगिता १३ जनवरीबाट सुरु हुनेछ
नेपालले पहिलो पटक सन् २००० मा यू–१९ विश्वकप खेलेको थियो र २००६ मा यो प्रतियोगिताको प्लेट च्याम्पियन भएको थियो । उमेर समूहमा नेपालले भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेशजस्ता टेस्ट मान्यता पाएका देशका टोलीलाई हराइसकेको छ । तर सन् २०१६ पछि भने विश्वकपको छनोट चरण नै पार गर्न सकेको थिएन ।
एसिया कप भने सन् २०१२ यता ७ पटक खेलिसकेको छ । सन् २०१७ मा समूह चरणमा २ खेल जित्दै सेमिफाइनल प्रवेश गरेको थियो । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपालले भारतलाई १९ रनले हराएको थियो । यो नै यू–१९ एसिया कपमा नेपालले अहिलेसम्म हासिल गरेको ठूलो उपलब्धी रहेको छ।
पछिल्लो पटक २०२२ मा भने नेपालले समूह चरणका तीनवटै खेल हारेको थियो । यो पटक नेपालले भारत र पाकिस्तानमध्ये एक टिमलाई हराएर सेमिफाइनल पुग्ने लक्ष्य राखेको छ । दुबई जानुअघि यू–१९ कप्तान देव खनालले भनेका थिए, ‘टेष्ट राष्ट्रलाई हराएर सेमिफाइनल पुग्ने हाम्रो कोशिस रहन्छ ।’
फेब्रुअरी–मार्चमा भएको विश्वकप छनोटमा ५ मा ५ खेल जितेको नेपालले एसिया कपको छनोट (यू–१९ प्रिमियर कप)मा पनि खेलेको सबै ५ वटै खेल जितेको थियो । दुबै प्रतियोगितामा शतप्रतिशत (१० खेल) जितेको नेपाली टोलीको आत्मविश्वास बलियो छ । साथै सिनियर टिमबाट टेष्ट राष्ट्रहरुविरुद्ध खेलिसकेका गुल्सन झाको उपस्थितिले टिम अझ सन्तुलित बनेको छ ।
नेपालको खेल तालिका र समय
डिसेम्बर ८ (मंसिर २२) : नेपाल भर्सेस पाकिस्तान
डिसेम्बर १० (मंसिर २४) : नेपाल भर्सेस अफगानस्तान
डिसेम्बर १२ (मंसिर २६) : नेपाल भर्सेस भारत
स्थान र समय : नेपालको सबै खेल आईसीसी एकेडेमी ओभल २ मा हुनेछ । खेल नेपाली समयानुसार बिहान ११ः१५ मा सुरु हुनेछ ।