काठमाडौं, ९ । नेपालका वाइल्डवाटर क्यानोइङ खेलाडी कृष्ण खड्काले चीनमा भइरहेको २०२५ नु जियाङ वाइल्डवाटर क्यानोइङ एसियन च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै सर्ट डिस्टेन्स स्पर्धामा स्वर्ण पदक जितेका छन्।

डिसेम्बर १७ देखि २२ सम्म आयोजना भएको प्रतियोगितामा खड्काले तीव्र बहाव र चुनौतीपूर्ण नदी मार्गलाई सहज रूपमा पार गर्दै एसियाका अनुभवी खेलाडीहरूलाई पछि पारे। उनको यो सफलताले नेपाललाई अन्तर्राष्ट्रिय जलक्रीडा क्षेत्रमा नयाँ उचाइमा पुर्याएको छ।
उक्त स्पर्धामा नेपालकै रञ्जन कडेलले कास्य पदक जिते पनि प्रतियोगिताको मुख्य आकर्षण कृष्ण खड्काको स्वर्ण जित नै बन्यो। उनको आत्मविश्वासपूर्ण प्रस्तुति र प्राविधिक दक्षता खेलभर देखिन्थ्यो।
खेलकुद क्षेत्रमा सीमित सहयोग र अवसरका बाबजुद कृष्ण खड्काले हासिल गरेको यो उपलब्धि नेपाली खेलकुद इतिहासमा उल्लेखनीय मानिएको छ। यस सफलताले नेपालमा वाइल्डवाटर क्यानोइङ खेलको भविष्य उज्यालो बनाउने अपेक्षा गरिएको छ।


