
काठमाडौं, १७ सनिबार। लगभग ४० वर्षभन्दा बढी समयदेखि पार्टीमा सक्रिय राईले आफ्नो राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु गरेका हुन्। त्यसपछि काठमाडौं सम्पर्क मञ्च हुँदै २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि आफ्नै जन्मथलो खोटाङको बुईपामा फर्किएर सक्रिय राजनीतिमा संलग्न भएका राई जिल्ला कमिटी सदस्यबाट जिम्मेवारी सम्हाल्दै सचिवालय सदस्य, सचिव, उपाध्यक्ष हुँदै हाल आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भई जिम्मेवारी निर्वाह गरिरहेका छन्।
हाल ५६ वर्षको उमेरमा रहेका राईले पार्टीका उतार–चढाव, अनुभव र संघर्षलाई नजिकबाट नियाल्ने अवसर पाएको बताउँछन्। यसपटक प्राप्त उम्मेदवारीलाई उनले आफ्नो राजनीतिक जीवनको ठूलो मेहनतको उपहारका रूपमा लिएको बताएका छन्। खोटाङमा एमालेका पुराना र नयाँ धेरै नेताहरू हुँदाहुँदै पनि पार्टीले आफूमाथि विश्वास गरी टिकट दिएकोमा उनले पार्टी नेतृत्व तथा सबै नेता–कार्यकर्ताप्रति कृतज्ञता व्यक्त गरेका छन्।
विगतका निर्वाचनहरूमा आन्तरिक असहमतिका कारण चुनौती सामना गर्नुपरेको स्मरण गर्दै राईले यसपटक भने जिल्लाभरि उत्साह र एकता देखिएको बताए। पहिले चुनावको समयमा आफ्नै नेता–कार्यकर्तालाई सम्झाइ–बुझाइ भोट माग्नुपरेको अनुभव सुनाउँदै, यसपटक उम्मेदवारी घोषणा भएलगत्तै सबै नेता–कार्यकर्ताहरू हर्षित भएको र नयाँ उत्साह थपिएको उनको भनाइ छ।

देवबिक्रम राई
यसपटकको निर्वाचनमा आफू विजयी हुने ठोस आधारहरू रहेको दाबी गर्दै राईले पहिलो कारण पार्टीको मजबुत संगठनात्मक संरचना र दोस्रो कारण आफू दूरदृष्टि, अनुभव र योग्य उम्मेदवार भएको उल्लेख गरे।
खोटाङ जिल्लाबाट अन्यत्र बसाइँसराइ बढ्दो क्रममा रहेको उल्लेख गर्दै उनले यसलाई रोक्नु आजको मुख्य चुनौती भएको बताए। यसको समाधानका लागि शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिजुली, कृषि र सिँचाइ क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन्।
साथै, स्थानीय कच्चा पदार्थ बाँस, काठ, जडीबुटी लगायतको प्रयोग गरी साना तथा मझौला उद्योग स्थापना गरेर रोजगारी सिर्जना गर्न राज्यस्तरबाट पहल गर्ने र खोटाङलाई बस्न लायक जिल्ला र गाउँ बनाउने दृढ संकल्प व्यक्त गरेका छन्।
कृषकहरूलाई बाँदर, बँदेल लगायतका बन्यजन्तुबाट हुने क्षति गम्भीर समस्या बनेको बताउँदै यसको समाधान व्यक्तिगत प्रयासबाट सम्भव नभई राज्यकै तर्फबाट नीतिगत पहल आवश्यक रहेको उनको भनाइ छ।
शिक्षा क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै राईले यसका लागि शिक्षकलाई मात्र दोष नदिई सबै सरोकारवाला निकायहरू एकजुट भएर लाग्नुपर्ने बताए। स्वास्थ्य क्षेत्रतर्फ ध्यानाकर्षण गराउँदै उनले जिल्लामा ५० शैया भन्दा बढी क्षमताको सुविधा सम्पन्न अस्पताल स्थापना गरी सबै प्रकारका रोगको उपचार सम्भव बनाइनुपर्ने र उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने विषयमा संसदमा बलियो आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।भूमि नीति पटक–पटक बने पनि प्रभावकारी कार्यान्वयन नभएको उल्लेख गर्दै राईले नयाँ ढंगबाट भूमि नीति निर्माण गरी भूमिसुधारमा आमूल परिवर्तन गर्ने लक्ष्य रहेको बताए।

देशको कुल बजेटको ठूलो हिस्सा चालू खर्चमा र न्यून हिस्सा पूँजीगत खर्चमा जाने वर्तमान अवस्थाले विकास सम्भव नहुने भन्दै उनले यसको वैकल्पिक समाधान आफूसँग रहेको र यस विषयमा संसदमा कठोर तर आवश्यक निर्णयका लागि आवाज उठाउने वचन दिएका छन्।यी सबै मुद्दाका आधारमा यसपटकको निर्वाचनको नतिजा आफ्नै पक्षमा आउनेमा आफू ढुक्क रहेको राईले बताएका छन्।
राईले २०५३ सालमा एम.ए. प्रथम श्रेणीमा उत्तीर्ण गरी गाउँ फर्किएपछि गाउँले जीवन, जनताका समस्या, दुःख–कष्ट र पीडामा प्रत्यक्ष सहभागी हुँदै राजनीतिलाई अंगालेका हुन्। अन्य प्रतिस्पर्धी उम्मेदवारहरूको तुलनामा राई शैक्षिक, राजनीतिक र व्यावहारिक सबै पक्षबाट सक्षम र अब्बल देखिन्छन्।
